२५ माघ, टीकापुर । कैलालीको टीकापुरमा युवापुस्तालाई कला र संस्कृति सिकाउन साप्ताहिकरूपमा न्याउल्या र होरी खेलको अभ्यास शुरु भएको छ । युवापुस्ताले कला र संस्कृति संरक्षणमा चासो नदेखाएपछि उनीहरुलाई सिकाउने अभ्यास शुरु गरिएको हो ।
टीकापुर सांस्कृतिक समाज र खप्तड सांस्कृतिक समाजको संयुक्त पहलमा हरेक साताको शनिबार दिउँसो तीन÷तीन घण्टा न्याउल्या र होरी खेल्न सिकाइने भएको छ । शनिबार साप्ताहिकरूपमा खेलाइने खेल उद्घाटन गर्दै टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले कला र संस्कृति नेपालीको पहिचान भएकाले संरक्षण आवश्यक रहेको बताए । “संस्कृतिले हामीलाई अनुशासनमा रहन सिकाउँछ, कला हामी नेपाली हुनुको पहिचान हो”, वडाध्यक्ष आचार्यले भने, “विशेष चाडपर्व तथा मेलामा मात्र खेलिने नागरिकको पहिचानसँग जोडिएका यस्ता परम्पराको संरक्षणका लागि युवालाई सिकाउनु राम्रो हो । रुचि भएका युवाले समेत सिक्न पाउनेछन् ।”
वडाध्यक्ष आचार्यले स्थानीय सरकार कला र संस्कृतिको संरक्षणमा सहयोगी भूमिकामा रहने बताए । “संस्कृति विकासका लागि प्रशस्त स्रोत छन् तर अगुवा गर्ने व्यक्तिले पहल गर्नुपर्छ”, उनी भन्छन्, “सांस्कृतिक संरक्षणमा लागेका संस्थाले पहल गर्नुस् हामी सहयोगी र साथमा रहनेछौँ ।”
देउडा संस्कृतिमा पिएचडी गरिरहनुभएका शिक्षक योगेन्द्र बजगाईँले संस्कृति संरक्षणमा लागिरहने बताए । “मानिसको सम्भ्यतासँग संस्कृति जोडिएको हुन्छ”, बजगाईँले भने, “अहिले संरक्षणमा लागेकाहरुले युवालाई सिकाउन नसके होरी, पुतला, देउडाजस्ता कला र संस्कृति अहिलेका पुस्ताको अन्त्यपछि हराउने भएकाले संरक्षण आवश्यक रहेको छ ।”
कला संस्कृतिप्रेमी देवानन्द रिमालले संस्कृतिले समाजको चित्रण गर्ने भएकाले संस्कृति र कला संरक्षण आवश्यक रहेकामा जोड दिए । “समाज कस्तो छ, समाज विकास कसरी अघि बढेको छ भन्ने त्यहाँको संस्कृतिले झल्काउँछ”, रिमाल भन्छन्, “यसमा भएका असल अभ्यासले विकास र सभ्यता सिकाउँछ ।”
कैलालीमा बाहिरबाट बसाइँ सरी आएका समुदायमा मेला पर्व वा विशेष दिनमा मात्रै सांस्कृतिक अभ्यास हुँदा युवापुस्ताले राम्ररी सिक्ने अवसर पाउन नसकेको अवस्थामा संस्कृति संरक्षणका लागि देउडा खेल्न थालिएको हो । पहिलो चरणमा न्याउल्या, होरी, पुतलाजस्ता खेलको अभ्यास गराइने भएको छ । “यो अभ्यास निरन्तर रहने र आउँदा दिनमा समाजलाई सचेत गराउने विषय खेलमा समेटिने टीकापुर सांस्कृतिक समाजका अध्यक्ष पे्रमबहादुर रावलले बताए । “यो अभियानमा विकास निर्माण, सामाजिक मुद्दा, महिला हिंसा, बालविवाह न्यूनीकरण, विपद् जोखिम, वन वातावरण संरक्षण कसरी गर्नेजस्ता विषय समेटिनेछन्”, रावलले भने, “यसले मनोरञ्जनसँगै समुदायलाई सचेत गराउन सहयोग पुग्छ ।”
खप्तड सांस्कृतिक समाजका अध्यक्ष भक्तराज देवकोटा देउडा र न्याउल्याका माध्यमले समाज विकासमा थप सहयोग पुगोस्, सामाजिक सचेतना फैलियोस् भन्ने उद्देश्य पनि राखिएको बताउछन् । “शनिबार बिदाको दिन अभ्यास गराइने भएको छ । रुचि भएकालाई सिक्ने थलो पाइनेछ”, उनी भन्छन्, “यहाँ मनोरञ्जनमात्र नभइ ज्ञान पनि मिल्नेछ । यसमा युवापुस्ता बढी सहभागी गराउनेछौँ ।”





