२४ कार्तिक, काठमाडौं । एमालेका महासचिव ईश्वर पोख्रेललाई मुख्य अतिथि बनाउँदा सिन्धुलीमा बिवाद भएको छ । सिन्धुलीको सदरमुकाममा आयोजीत एक कार्यक्रममा पोख्रेललाई मुख्य अतिथि बनाएको विषयमा तनाव सुरु भएपछि अहिले सदरमुकाममा निषेध जारी गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख गोबिन्द थपलियाका अनुसार उक्त विषयलाई लिएर एमाले र सत्तारुढ दलका कार्यकर्ताबिच झडपको स्थिती आउने सक्ने भन्दै निषेध जारी गरिएको हो । कमलामाई नगरपालिकाले एमाले महासचिव ईश्वर पोखरेललाई सालिक अनावरण र विजयोत्सवमा प्रमुख अतिथि बनाउन लागेको भन्दै गठबन्धन दलले मंगलबारदेखि नै तालाबन्दी गरेका छन् । पोखरेल मंगलबार नै सिन्धुली पुगेका छन् ।
लोकतान्त्रिक चोकमा रहेको वाल उद्यान पार्कमा अहिले ठूलो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको छ । गठबन्धन दलका कार्यकर्ताहरुले पार्कलाई घेरेका छन् भने एमाले सम्बद्ध नेता तथा भ्रातृ संगठन युवा संघका कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका छन् । बिहान ९ बजे सालिक अनावरणको कार्यक्रम तय गरिएको भए पनि अझै सुरु भएको छैन ।





