२४ कात्तिक एएफपी । नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गरेकी छिन् । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवाकसँग विहे गरेकी हुन् । उनले आफ्नो बैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिएकी छिन् ।
तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसूस गरी उनि अहिले बेलायतमा बस्दै आएकी हुनाले बेलायतमा बैवाहिक कार्यक्रम भएको हो । सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सवैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरिन । “मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । इस्लामिक परम्पराअनुसार बिवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ ।
उनले अहिले निकाह गरेकी हुन् । यसको कानुनी हैसियत भने रहदैन । महिला अधिकारको पक्षमा लागेको र मुिस्लम छात्रालाई पढाएकोप्रति रुष्ट हुदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए । पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनिसहित तीन जना घाइते भएका थिए ।
त्यसपछि उनको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाईन । उनि अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरु मध्ये सबैभन्दा कान्छी हुन् । उनले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी छिन् भने विश्वभरी मानवअधिकारकर्मीको पहिचान बनाएकी छिन् ।





