पु.समाचार

कांग्रेस पदाधिकारीमा उम्मेद्वारी दिनेहरुः कुन–कुन पदका लागि कति उम्मेदवार ?

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पदाधिकारी सहितका विभिन्न पदमा मनोनयन दर्ता सकिएको छ । सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सभापतिमा उम्मेदवारी दर्ता गराउनेमा वर्तमान सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले रहेका छन् ।

त्यस्तै उपसभापतिमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्य महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह, पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारले उपसभापतिमा उमेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी महामन्त्रीमा गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. राजाराम कार्की, प्रदिप पौडेल, डा. प्रकाशशरण महत सहित ६ जनाको उमेदवारी परेको छ ।

साथै सह-महामन्त्रीमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसअन्तर्गत मानबहादुर विश्वकर्मा(दलित), बद्री पाण्डे(पिछडिएको), फरमुल्लाह मंसुर(मुस्लिम), सुरेन्द्रप्रसाद चौधरी(थारु), देवराज चालिसे (खसआर्य), रंजित कर्ण(मधेशी), रामकृष्ण यादव(मधेशी), कमला पन्त(महिला), तेजुलाल चौधरी(थारु), किशोर सिंह राठोर(खसआर्य), विकास लामा(आदिवासी जनजाति), जीवन परियार(दलित), गंगा सुनार(दलित), महेन्द्र यादव(मधेशी), भीष्मराजम आङ्देम्बे(आदिवासी जनजाति), जीवन बहादुर शाही(पिछडिएको क्षेत्र), चेतराज बजाल(पिछडिएको क्षेत्र), शेख वकिल(मुस्लिम) र उमाकान्त चौधरी(थारू) ले मनोनयन दर्ता गराएका हुन् ।

महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने कुनै पदमा पनि उम्मेदवारी दिएका छैनन । साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकामा उनीहरुले उम्मेदवारी दर्ता गरेनन् । पौडेलले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् भने सिटौलाले वर्तमान सभापति शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन् ।