१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मादी मस्र्याङ्दी मोटरमार्गको आज निरीक्षण गर्नेछन् । व्यास नगरपालिका–७ बाट सुरु हुने मादी मस्र्याङ्दी मोटरमार्गको आज वरिष्ठ नेता पौडेलले निरीक्षण गरेका हुन् ।
गण्डकी प्रदेशका सांसद सरिता गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसहितको उपस्थितिमा मोटरमार्गको निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले यो मार्ग कालोपत्र भएपछि यस भेगको जनताको जीवनस्तर बदलिने बताए । सो मोटरमार्गका लागि बजेट विनियोजन भई बोलपत्रको प्रक्रिया थालिएको बताइएको छ ।
वरिष्ठ नेता पौडेलले आजै जिल्लाका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा कार्यकर्ता भेटघाट गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, व्रिता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारमा कार्यकर्ता भेटघाट गर्नेछन् । सो क्रममा वरिष्ठ नेता पौडेलले पार्टीलाई सुदृढीकरण गर्नुपर्नेमा जोड दिए ।
वरिष्ठ नेता पौडेल केही दिन गृहजिल्लामा रहने कार्यक्रम रहेको छ । पौडेलले फागुन १३ गते व्यास नगरपालिका–१० मा निर्माण हुन लागेको व्यास नगर अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सोही दिन पौडेलले कालिका मार्गको अवलोकन गर्नुका साथै रुपाकोटमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्नेछन् । फागुन १४ गते नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ को आयोजनामा खैरेनीटारमा हुने सुदृढीकरण एवं अन्तक्र्रिया कार्यक्रममा पौडेलले सहभागिता जनाउनेछन् ।
क्षेत्रीय होटल सङ्घ तनहुँको अध्यक्षमा शाही
क्षेत्रीय होटल सङ्घ तनहुँको अध्यक्षमा जीवन शाही सर्वसम्मत चयन भएका छन् । सङ्घको आज सम्पन्न अधिवेशनले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा चन्द्रकुमार कायस्थ र विपिन प्रधान, महासचिवमा रामचन्द्र खड्का, कोषाध्यक्षमा विज्ञान कैनी र सचिवमा सुनिता पन्थ चयन हुनुभएको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।
सङ्घको सदस्यमा लक्ष्मण जोशी, गणेश खत्री, सुनिल खड्का, सुरज गुरुङ, विनिता सेढाईँ क्षेत्री, सुजना श्रेष्ठ, भावना अधिकारी, ईश्वर लामिछाने र सुनिलबहादुर अधिकारी चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै होटल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रको विकास र उत्थानका लागि होटल एशोसिएशन हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा तनहुँ उद्योग बाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय होटल सङ्घ तनहुँका सल्लाहकार एवं चेम्बर अफ कमर्सका अध्यक्ष महेन्द्रमोहन भट्टराई, हानका केन्द्रीय सदस्य युवराज श्रेष्ठ, लव कार्कीलगायतले मन्तव्य राखेका थिए । सङ्घले विधान परिमार्जन गरी क्षेत्रीय होटल सङ्घ तनहुँलाई होटल सङ्घ तनहुँ बनाएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष खनालले जानकारी दिए ।





