समाचार

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना


१७ फागुन, काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गरेका छन् ।

 राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गर्नु भई विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेका हुन् । उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेका थिए । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गरेका थिए । 

उपराष्ट्रपति पुनद्वारा पूजा आराधना

 यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा, आराधना एवं दर्शन गरेका कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा प्रत्येक वर्ष राष्ट्राध्यक्षले पशुपतिनाथमा विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । 

 महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । आज राति भक्तजन आएसम्म दर्शन गर्न दिइने कोषका सदस्य सचिव थापाले जानकारी दिए ।