समाचार

प्रधानमन्त्री देउवा बिहीबार तनहुँमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने


९ चैत, दमौली । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने भएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ आउन लागेका हुन् ।

प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछ । लगत्तै उनले तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ अर्यालले जानकारी दिए।

प्रधानमन्त्री देउवाले बिहीबार नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नेछ । गाउँपालिकाले रु तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।