प्रदेश 1

धरान ३, १२ र १३ मा कांग्रेसको संगठन सशक्तिकरण तथा सुदृढिकरण अभियान


१६ चैत, धरान । नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ ले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरणलाई जोड दिंदै वडावडामा अभियान सञ्चालन गरेको छ । सोही अभियान स्वरुप धरानको वडा नं. ३, १२ र १३ मा सशक्तिकरण तथा सुदृढिकरण कार्यक्रम गरिएको हो ।
वडा र टोल तहको पार्टी संगठनको क्षमता अभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरुलाई सांगठानिक, राजनीतिक र सामाजिक गतिविधि गर्न तथा जनमुखी कार्यक्रम गर्न उत्प्रेरित गर्दै सिंगो पार्टी संगठनलाई सशक्तिकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । गत फागुन १ गतेदेखि जारी अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने सबै वडामा सञ्चालन गरिने बताए । अभियानले पार्टीको केन्द्रीय समितिद्धारा घोषित घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं कार्यक्रमलाई समेत सफल बनाउन मद्दत पुगेको र टोलटोलमा संगठन निर्माण र विस्तार गर्न थप टेवा पुगेको उनले बताए ।
संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा ल्याइएवाट पार्टी सञ्चालन र संगठन विस्तारमा महत्वपूर्ण टेवा पुगेको सहभागीहरुले बताएका छन् । उनीहरुले यस्तो कार्यक्रमहरु र प्रशिक्षण कार्यक्रमहरु नियमित रुपले सञ्चालन गरिनुपर्नेमा जोड दिंदै क्षेत्रीय समितिले अति नै सान्दर्भिक, समयसापेक्ष र अत्यावश्यक कार्यक्रम गरेको बताए ।
अभियान अन्तर्गत वडा नं. १२ मा भएको कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीले आसन्न स्थानीय तहको निर्वाचन जित्न उच्च मनोवलका साथ लाग्न प्रेरित गर्दै आगामी बजेट, नीति तथा कार्यक्रम जनताको पक्षमा आउने बताए । जिल्लाका पदेन आमन्त्रित सदस्य तथा प्रदेशसभा सदस्यका प्रत्यासी किशोर राईले पार्टी सशक्तिकरण संगसंगै सुद्धिकरण पनि गर्नुपर्ने बताए । प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सचिव राजेन्द्र राईले राजनीति पनि एउटा विज्ञान भएकाले तथ्यको आधारमा राजनीति गर्नुपर्ने बताए । नगर सभापति श्याम पोखरेलले अभियानको स्वागत गर्दै महाधिवेशनका प्रत्यासीहरुलाई समेत समेटेर पार्टीलाई एक ढिक्का बनाएर हिंडाउनुपर्ने बताए । नेपाल दलित संघका १ नं. प्रदेश सभापति गोविन्द दर्नालले पार्टीमा सबैमा इज्जत र मान मर्यादा कायम गरिनुपर्नें बताए । वडा सभापति सरोज भट्टराईले क्षेत्रीय समितिले अभियानको क्रममा निर्देश गरेका कार्यहरुलाई क्रमशः गर्दै जाने बताए ।
त्यसैगरी वडा नं. १३ मा भएको कार्यक्रममा अग्रज नेता विश्वराज शर्मा भण्डारीले अभियानलाई हेर्दा अब केही हुन्छ भन्ने आशा जागेको बताउंदै पार्टीले जिम्मेवारी र भूमिका दिनुपर्ने तथा प्रशिक्षण दिनुपर्ने बताए । क्षेत्रीय सदस्य आशिष कटवालले अभियानवाट पार्टी र कार्यकर्तामा जागरण आउनुका साथै कार्यकर्तालाई जिम्मेवार र जवाफदेही बनाएको बताए । प्रदेश सम्मेलन सदस्य डम्बरबहादुर राई (सुवास) ले सत्तामा पुगेपछि कम्युनिष्टले देशलाई विगार्ने गरेको र कांग्रेसले सपार्ने गरेको बताए । उनले कम्युनिष्टको डिएनए नै खराब भएको बताए । वडा सभापति डम्बर तामाङले अभियानको स्वागत गर्दै अब वडामा सबैलाई सकृय बनाएर टोल टोलमा जाने बताए । कार्यक्रममा धार्मिक एवम् सामाजिक अभियन्ताका छवि बनाएका एमालेका सकृय नेत्री शान्ता तामाङ एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । उनलाई क्षेत्रीय सभापति सुजेन्द्र तामाङले खदा लगाई स्वागत तथा प्रवेश गराएका थिए ।
धरान ३ को कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश नं. १ का महामन्त्री उमेश थापाले अभियानको प्रशंसा गर्दै एमसीसी र राष्ट्रिय राजनीतिका बारेमा प्रकाश पारेका थिए । जिल्ला सचिव माधव घिसिङले देशमा विकास र समृद्धि ल्याउन नेपाली कांग्रेसको विकल्प नभएको बताए । प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सभापति अनिल श्रेष्ठले एमालेका जनप्रतिनिधिहरुको दोहोरो चरित्र र भूमिकाले वडाको विकासमा समस्या आएको बताए । प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सभापति मुरारी भट्टराईले पार्टीका नेता तथा कार्यकर्ताहरु असल र अनुशासित भएर सही ठाउंमा बस्नुपर्ने बताए । नगर सभापति श्याम पोखरेलले एमालेका जनप्रतिनिधिहरुले नगरपालिका सञ्चालनमा असहयोग गरेको बताए । नगर सचिव हिमाल श्रेष्ठले टोल समितिको महत्वपूर्ण भूमिका हुने भएकाले सशक्त भएर लाग्नुपर्ने बताए । कार्यक्रममा वडा सभापति उमेश श्रेष्ठको अध्यक्षतामा भएको वडा नं. ३ को कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौंले कांग्रेस प्रवेश समेत गरेका थिए ।
कार्यक्रममा महासमिति सदस्यद्धय श्यामा रेग्मी र ममता तामाङ, महाधिवेशन प्रतिनिधिद्धय चन्द्रशेखर लामा र निलकुमारी गिरी, जिल्ला सदस्यद्धय अनुपमा सुनुवार र रिता सुन्दास, क्षेत्रीय सचिवद्धय महेन्द्र पधान र केशव पुरी, क्षेत्रीय सदस्यहरु लोकमणि शर्मा, उमेश पौडेल, अतुल श्रेष्ठ, पेम्वा तामाङ, सुरेन्द्र श्रेष्ठ, सुशिला श्रेष्ठ, नेपाल महिला संघका क्षेत्रीय सभापति नेत्रकुमारी राई लगायतको उपस्थिति रहेको थियो ।