काठमाण्डौ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा सुरक्षा चूनौती बढेको भन्दै सबै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने भएको छ । आयोगले आइबार अपरान्ह सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएको हो ।
छलफलमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने निर्वाचन आयोग श्रोतले जनाएको छ । पछिल्ला दिन चुनावी अभियानका क्रममा रहेका उम्मेद्वारहरुमाथि श्रृंखलाबद्ध रुपमा बम हमला हुन थालेपछि आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न थालेको हो ।
शुक्रबार र शनिबार चुनावी अभियानमा रहेका माओवादी केन्द्रका नेताहरु वर्षमान पुन अनन्त र जनार्दन शर्मालाई लक्षित गर्दै बम आक्रमण भएको थियो । यसरी दिनप्रति दिन उम्मेद्वारमाथि भौतिक रुपमै आक्रमण भएपछि गृहमन्त्रालयले समेत सुरक्षाकर्मीहरुलाई कडा आदेश जारी गरिसकेको छ ।





