२५ वैशाख, लुम्बिनी । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गले सम्पन्न गर्न प्रहरी र कर्मचारीलाई आग्रह गरेका छन् । प्रहरी र प्रशासनका कर्मचारीले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने भूमिका निर्वाह गर्नुपर्ने उनले धारणा राखे ।
नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गरेको स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमलाई केन्द्रित गरेर आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा मात्र देशको विकास र समृद्धि सम्भव भएको बताए। एमालेले सरकारको नेतृत्व गरेका समयमा देश र जनताको पक्षमा महत्वपूर्ण काम भएको उनको भनाइ थियो ।
एमाले नेतृत्वको सरकारले देशभरि थुप्रै महत्वपूर्ण विकास आयोजना सुरुवात गरेको अध्यक्ष ओलीले उल्लेख गरे । उनले भने, “कैयौँ वर्षदेखि नागरिकको जीवन लिएका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापित गरेको हो ।’’ उनले रुपन्देहीमा सडक, पुल, विमानस्थल, सामुदायिक विद्यालय, स्वास्थ्य चौकीलगायत पूर्वाधार निर्माणका काम एमालेको अगुवाईमा भएको दाबी गरे ।
एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमालेको नेतृत्वको सरकारले रुपन्देहीको विकासमा फड्को मारेको बताए। स्थायी कमिटी सदस्य घनश्याम भुसालले शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकासलगायत क्षेत्रमा जनतालाई निःशुल्क सेवा उपलब्ध गराउन एमालेको नेतृत्व अपरिहार्य रहेको बताए ।





