ललितपुर । अर्थ राज्यमन्त्री एवं ललितपुर क्षेत्र नं १ का लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका उदयशम्शेर राणाले जनताको सेवा नै आफ्नो प्रमुख उद्देश्य रहेको बताएका छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा आज गोदावरी नगरपालिका–५ लेलेमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनचाहनाअनुरुप विकासका कामसमेत प्रमुख एजेन्डामा रहेको बताए ।
“जनताले विकास र आर्थिक समृद्धि चाहेका छन्”–उनले भने । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट विजयी भएर विकासका कामलाई तीव्रगतिमा अगाडि बढेको उनको भनाइ रहेको थियो । मंसिरमा हुने निर्वाचनमा विजयी बनेपछि यहाँका हरेक समस्यालाई समाधान गर्ने उनको प्रतिबद्धता थियो ।
सोही वडाका अध्यक्ष मिलन सिलवालले विकासप्रेमीका रुपमा यहाँका जनताले उदय शम्शेरलाई चिन्ने गरेको बताए । हरेक दुःख सुखमा साथ दिने राजनेताको आवश्यकता रहेको बताउँदै आगामी निर्वाचनले त्यही अनुरुपको नेतालाई विजयी गराउन जनताहरु लालायित रहेको उनले उल्लेख गरे ।





