समाचार

एकै परिवारका ६ जनाको हत्या प्रकरण: चार जनालाई आजीवन कारावास

२१ असार, काठमाण्डौ । मादी हत्या काण्डमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाले मादी नगरपालिका-१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जनामध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो । हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला सुनाएको छ । मृतक परिवारको राहत कोषमा ४ जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने आदेश भएको अदालतका स्रेस्तेदार केदारप्रसाद गौतमले बताए । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गर्दै उक्त फैसला गरेको हो । २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनाको सफल अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले पनि ४ जनाविरुद्ध आजीवन कारवास सजाय मागदाबी गरेको थियो । हत्यामा अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै आफन्तहरू हुन् ।