४ साउन, काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्था निकै जटिल रहेको बताएका छन् । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिँदै आएको बताए ।
“कारागारभित्रको कैदीबन्दी के कारणले बिरामी प¥यो, के कारणले म¥यो भन्ने जानकारी थाहा पाउन नै मुस्किल हुँदै आएको छ”, उनले भने । अध्यक्ष मगरले पहिलेको तुलनामा भन्दा अहिले कारागारभित्र भने सुधार आएको बताए । उनले कारागारभित्र रहेका कैदीबन्दीको अवस्थाबारे आयोगले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरण गरे ।
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संविधान र कानुनमा महिला अधिकारका विषयमा धेरै लेखिए पनि कारागारभित्र रहेका महिला कैदीबन्दीको अवस्था दयनीय रहेको बताए । अधिवक्ता मनिषकुमार श्रेष्ठले देशका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदै आएको बताउँदै उक्त विषय मानवअधिकारको दृष्टिकाणले अत्यन्तै संवेदनशील भएको बताए । मञ्चकी अध्यक्ष कोकिला पुनले अन्यायमा परेका व्यक्तिलाई उद्धार गर्ने संस्थाको मुख्य उद्देश्य रहेको बताए ।
वि.सं २०७० मा स्थापना भएको उक्त संस्थाले कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारको लागि आवाज उठाउँदै आएको संस्थाका उपाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिए । सोही अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व शङ्कर केसीकी धर्मपत्नी सुशीला केसी र संस्थापन कार्यसमिति र मञ्चका कानुन सल्लाकार एवं विभिन्न क्षेत्रमा सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।





