२५ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकालगायत देशका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विदेशी पाहुनासहित ७५ जनाको टोलीले आज भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् ।
काठमाडौँका नगरप्रमुख बालेन साह, उपप्रमुख सुनिता डङ्गोल, जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेल्धुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल तथा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ एवं प्रशासकीय अधिकृतसहितको टोलीले भक्तपुरको दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।
इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ आउनुभएका भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले आफ्नै नगरपालिका कार्यालयको सभाकक्षमा नगरप्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अङ्कित परम्परागत खाँदा तथा महिला अतिथिलाई सुर्केथैली उपहारसहित स्वागत गरे ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउँदै भक्तपुरमा मौलिकशैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख बाटोतर्फ नगरपालिका अगाडि बढिरहेको बताए ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले एक सय वर्षपछिको भक्तपुरको आधार निर्माण गरिरहेको बताउँदै प्रजापतिले जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुनेमा जोड दिए । निर्वाचनका समयमा जनतासँग गरेको बाचा पूरा गर्दै जनतासँग नजिकमा रहेर काम गर्ने स्थानीय सरकारले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुर नगरपालिकाले यहाँका सम्पदाको पुनःनिर्माण एवं जीर्णोद्धार गरिरहेको जानकारी गराए।
नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको संक्षिप्त प्रस्तुतीकरण देखाउँदै कला संस्कृतिमा धनी नगरलाई विश्वकै हेर्न लायक सहरका रुपमा विकास गर्न लागि रहेको बताए । काठमाडौंका प्रमुख साहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाइबाट आफू निकै प्रभावित भएको भन्दै ठेक्का पट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिको नियमित अनुगमन हुनुपर्ने बताए । विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरी जनताको आधारभूत आवश्यकतामा पर्ने विषयको जिम्मा राज्यले लिनुपर्नेमा जोड दिए ।
विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले महानगर र नपाबीचको समन्वय तथा सहकार्य आगामी दिनमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै मूर्त, अमूर्त सम्पदा काठमाडौँ उपत्यकाको विशेषता नै रहेको तर भक्तपुर र विराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताए । उपप्रमुखका तर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाबीचको सम्बन्ध र उपलब्धि एकअर्कामा परिचित गराउनुपर्नेमा जोड दिए । सम्पदाको अवलोकन पश्चात नगरप्रमुख प्रजापतिले उनीहरुलाई प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशन उपहार स्वरुप प्रदान गरेका थिए ।





