२७ असोज, काठमाडौं । नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो ।
सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको फिल्मकर्मी बताउँछन् । प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना फिल्मलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेशन तथा रेष्टोरेशन गरेको छ ।
सेल्युलाइड प्रविधिमा रहेका महत्वपूर्ण फिल्म आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइजेशन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टियसम्बन्ध अधिकृत चिरन्जीवी गुरागाईंले जानकारी दिए । ती फिल्म अंग्रेजी भाषामा सबटाइटल गरिएको छ ।
“डिजिटाइजेसनसँगै ती फिल्मका रिल रेष्टोरेशन (पुरानोलाई नयाँजस्तै बनाउने) गरेर राखिएको छ । रेष्टोरेशनले एट के (आधुनिक प्रविधि) वा अन्य विकसित गुणस्तरमा स्तरोउन्नति गर्न सकिनेछ । हामीले सरकारी लगानीमै निर्मित १५ घण्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेशन गरेका छौँ,” उनले भने । रेष्टोरेशन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएको लगायतको ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइन्छ । त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिन्छ ।
पहिलो चरणमा तत्कालिन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको सरकारी लगानीमा बनेका फिल्मलाई डिजिटाइजेशन गरिएको छ । डिजिटाइजेशन भएपछि १६ एमएम र ३५ एमएमका ती फिल्म टु के र फोर के (आधुनिक प्रविधि) ढाँचामा छन् । नेपालमा फिल्मको इतिहासलाई आम सर्वसाधारणसम्म पु¥याउन चलचित्र सङ्ग्रहालयको स्थापना गर्ने प्रक्रियाको थालनी भएको बोर्डले जनाएको छ ।
अधिकृत गुरागाईंका अनुसार साउथ एसियाका देशमध्ये छिमेकीमुलुक भारतपछि सफलतापूर्वक डिजिटाइजेशन तथा रेस्टोरेशन गर्ने देश नेपाल हो । पहिलो बोर्ड अध्यक्ष यादव खरेलको सक्रियतामा नेपाल टेलिभिजनमा राखिएका रिललाई सफाइ गरेर बोर्डमा अर्काइभ गरी राख्ने अवधारणा ल्याउनु भएपछि डिजिटाइजेशनको सुरुवात भएको अधिकृत गुरागाईंले बताए।
उनी भन्छन्, “फिल्म सर्वसाधारणलाई देखाउने कार्यविधि निर्माण गर्ने तयारीमा बोर्ड छ । हामी स्वदेशसँगै विदेशमासमेत प्रदर्शन गर्ने तयारीमा छौँ ।” सन् २०२१ को मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा डिजिटाइजेशन गरिएको दुई फिल्म आमा र कुमारी प्रदर्शन गरिएको थियो । विसं २०७५ भदौ २८ सम्झौता गरेर २०७६ फागुन ८ गते डिजिटाइजेशन र रेष्टोरेशनको कार्य भारतको चेन्नईस्थित श्रीप्रसाद कर्पोरेशन प्रालिको प्रसाद ल्याबमा सम्पन्न भएको थियो ।





