७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेर बहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउने बारे छलफल भइरहेको बताएका छन् ।
आज कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा भएपनि सभापतिलाई नै उम्मेदवार बनाउने कि भन्ने बारे पार्टीमा छलफल भइरहेको बताएका हुन् ।
उनले कृष्ण प्रसाद सिटौला ,मिन बहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठ पनि राष्ट्रपतिको उम्मेदवारको लाइनमा भएको भन्दै सकेसम्म सभापति नै उम्मेदवार हुनुपर्नेमा जोड दिए । सभापति नै राष्ट्रपति भएमा सम्मानजनक बहिर्गमन हुने पनि शर्माको भनाइ थियो ।
उनले भने ” केही दिन अघि पार्टी भित्र छलफल हुँदा सभापति देउवालाई नै उम्मेदवार बनाउने कि भन्ने बारे कुरा भएको थियो।” महामन्त्री शर्मा आफैले सभापतिलाई राष्ट्रपतिको उमेद्वार बन्न सुझाएको तर “अहिले कहाँ हुन्छ त्यस्तो” भन्दै सभापतिले ईनकार गरेको पनि बताए ।





