अन्तर्राष्ट्रिय

इमरान खानका भाषण र समाचार प्रसारणमा रोक 

२२ फागुन, काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न टेलिभिजन च्यानलहरूलाई सरकारले प्रतिबन्ध लगाएको छ ।

पाकिस्तान इलेकट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले इमरान खानले  राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढवा दिएको जनाउँदै  टेलिभिजन च्यानलहरूलाई उनका भनाइ प्रसारण गर्न प्रतिबन्ध गरेको हो। 

अथोरिटीले सूचनामा ‘खानले आफ्ना उत्तेजक बयानहरू मार्फत राज्य संस्था र अधिकारीहरू विरुद्ध निराधार आरोपहरू र घृणापूर्ण भाषण फैलाउँदै थिए’,  भनेको छ, ‘जुन कानुन र व्यवस्था लागि प्रतिकूल छ र सार्वजनिक शान्ति सुव्यवस्थालाई खलल पार्न सक्छ ।’

खानले आइतबार एक कार्यक्रमको बिच आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको प्रमुख हात रहेको आरोप लगाएका थिए । उनको उक्त भनाई सार्वजनिक भएपश्चात् उनीसँग सम्बन्धित सबै खाले भाषण समाचार सार्वजनिक गर्न प्रतिबन्ध लगाएको हो ।