अन्तर्राष्ट्रिय

युरोपेली सङ्घका सबै सिफारिसहरू पूरा गरेको युक्रेनको दावी

२२ फागुन, कीभ, युक्रेन । युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले युद्धग्रस्त आफ्नो राष्ट्रले युरोपेली सङ्घ (ईयू) मा सामेल हुन वार्ता सुरु गर्न दबाब दिइरहेका बेला कीभले युरोपेली सङ्घका सबै सिफारिसहरू पूरा गरेको बताएका छन्।

सन् २०१४ मा इयू समर्थक क्रान्ति गरेको युक्रेनले एक वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश यसै वर्ष युरोपेली सङ्घमा सामेल हुन वार्ता सुरु गर्न योग्य रहेको बताएका छन् ।

युक्रेनले आफ्नो राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरोको नयाँ प्रमुख नियुक्त गरेको र यसले ईयूलाई आवश्यक सुधारको एक चरण पूरा गरेको शमिगलले बताए ।

“युक्रेनले ईयूका सातवटै सिफारिस पूरा गरेको छ,” उनले ट्वीटरमा लेखेका छन् । “यसले यस वर्ष ईयू प्रवेश वार्ताको सुरुवातमा अगाडि बढ्ने हाम्रो दृढतालाई दर्शाउँछ,” उनले भने ।

उनले ४० वर्षीय सेमेन क्रिभोनोसलाई भ्रष्टाचार विरोधी एजेन्सीको नयाँ प्रमुखमा नियुक्त गरेको घोषणा गर्नुभएको छ । क्राइभोनसले यसअघि युक्रेनको शहरी योजना मन्त्रालयको नेतृत्व गरेका थियो ।

रुसले चौतर्फी आक्रमण सुरु गरेको चार महिनापछि ब्रसेल्सले गत वर्ष जुनमा कीभलाई ईयू सदस्यका लागि औपचारिक उम्मेदवारको दर्जा दिएको थियो, तर, इयूले त्यतिबेला कीभले भ्रष्टाचारविरुद्धको लडाइँलाई तीव्रता दिने र ‘कुलीनवर्गको अत्यधिक प्रभाव’ लाई सीमित गर्नेलगायत सात वटा सुधारहरू लागू गर्नुपर्ने बताएको थियो । ईयूमा सामेल हुने प्रक्रियामा वर्षौं लाग्न सक्छ ।

युक्रेनको विलयको अन्तिम निर्णय ईयू सदस्य राज्य सरकारहरूमा निर्भर गर्दछ ।

ईयूका २७ राष्ट्रमध्ये केहीले कीभ मस्कोको आक्रमणबाट मुक्त हुन वा आवश्यक लोकतान्त्रिक र भ्रष्टाचार विरोधी सुधार लागू गर्न सक्नेमा सशङ्कित छन् ।