२३ फागुन, एजेन्सी । राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गरेका छन् । उनले अहिले पनि लैङ्गिक विभेद रहेको र महिला र पुरुषबिचको समानताका बिचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले अहिले महिला र पुरुषका बिचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरूलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिए।अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरूको पनि समान पहुँच कायम गर्न सकेमा यसले लैङ्गिक समानता कायम गर्न सहयोग पुग्नेछ उनले भनेका छन् ।
विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । यही मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित सो कार्यक्रममा उनले यी धारणा राखेका हुन् । यस वर्षको सो दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने अवधारणाका साथ मनाइँदै छ ।





