४ जेठ, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताएका छन् ।
काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले आफ्नो मन्त्रालय खेलकुदमा मात्र सीमित नरहेको बताए। “हामी युवाको अन्य गतिविधीमा सहकार्य गर्न तत्पर छौँ”, उनले भने, “युवाको विचार, दृष्टिकोण तथा सिर्जनशीलतामा सहकार्य गर्न सके समृद्धि अवश्य सम्भव छ ।”
मन्त्री लिम्बूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा पुग्न धेरै मेहनत चाहिने बताए। “प्रयाश गरिरहनु पर्छ । सफलता अवश्य मिल्छ”, उनले भने।
प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिने छन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेसनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउने छन् भने महिला विजेताले मिस सुप्रानेसनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।





