२० जेठ, काठमाडौँ । कौडिन्य गोत्रीय आचार्यहरूको केन्द्रीय छाता सङ्गठन आचार्य बन्धु समाज केन्द्रीय समितिले आचार्य सेवा सदन बनाउने निर्णय गरेको छ । नवौँ अधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिको पहिलो बैठकले आफ्नै भवन निर्माणका लागि जग्गा प्राप्ति देखि निर्माण सम्पन्नसम्मका लागि समितिहरू गठन गर्ने निर्णय गरेको समाजका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

समाजको केन्द्रीय कार्यालय मध्य वानेश्वरमा शनिवार बसेको बैठकले देशभर रहेका आचार्य बन्धुहरूको तस्बिर र सम्पर्क नम्बर सहितको आचार्य पुस्तिका प्रकाशन गर्ने निर्णय गरेको छ । प्रकाशनका लागि समाजका महासचिव शोभनराज आचार्यको संयोजकत्वमा सचिव इन्द्र आचार्य, कोषाध्यक्ष पवित्रा बजगाईँ आचार्य सहित सदस्य रहेको समिति गठन भएको छ । यसै गरी बृहत् आचार्य वंशावली प्रकाशन गर्ने निर्णय समेत भएको छ ।
यसका लागि लब्ध प्रतिष्ठित, अनुसन्धाता, विद्वान तथा नव खोजकर्ताहरूको सक्रियतामा “घर–घरमा पुगेर, सबैको बुझेर” भन्ने अभियान नै चलाएर वंशावली बनाउन बृहत् समिति निर्माण गर्ने निर्णय समेत भएको छ । केही प्रतिष्ठित व्यक्तिहरूलाई प्रस्ताव गर्ने निर्णय भएको छ महासचिव शोभनराज आचार्यले बताए।

समाजले बन्धु कल्याण कोष स्थापना गर्ने निर्णय समेत गरेको छ । बृहत् राशिको कल्याण कोष स्थापना गर्ने, कोषबाट भवितव्य, रोग-व्याधी, विपन्नता, आर्थिक सङ्कटमा परेर सहयोग जरुरी रहेका आचार्यहरूलाई सहयोग गर्ने, उज्ज्वल भविष्यको सम्भावना भएकाहरूलाई साथ दिने तथा विभिन्न पुरस्कारहरू घोषणा गरेर प्रदान गर्ने उद्देश्य सहित सञ्चालन निर्देशिका तयार गर्न अधिवक्ता समेत रहेका महासचिव शोभनराजलाई जिम्मेवारी तोकेको छ । बैठकले विभिन्न विभाग गठन गरेर जिम्मेवारी समेत तोकेको छ । नागरिक अभिनन्दन, सम्मान तथा समाज कल्याण विभाग गठन गरेर पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यका सुपुत्र कृषि उद्यमी वीरभद्र आचार्यलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

विदेश विभाग प्रमुखमा डा. सुरेश आचार्य, प्रेस तथा सञ्चार विभाग प्रमुख इन्द्र आचार्य, कर्मचारी विभाग प्रमुख भूमिराज आचार्य, सूचना प्रविधि (आइटी) प्रमुखको जिम्मेवारी राज आचार्यले पाएका छन् । सचिव इन्द्र आचार्यको संयोजकत्वमा गठित प्रचार विभागको सदस्यमा मच्छिन्द्र आचार्यसहितको समिति बनाइएको छ । ‘आचार्य सेवा सदन’ निर्माणको संयोजकत्व समाजका अध्यक्ष बाबुराम आचार्यले गरेका छन् भने सदस्यमा रामहरि आचार्यलगायत रहेका छन् । यही असार १५ गते बानेश्वरस्थीत
कृष्णभोग पार्टी प्यालेसमा दिनको ३ बजे बृहत् बन्धु भेला तथा अपनत्व संवाद सहित ‘दही च्युरा’ ग्रहण गर्ने कार्यक्रम आयोजनाको निर्णय भएको सचिव इन्द्र आचार्यले बताए।






