५ असार, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको हो ।
चालु आर्थिक वर्ष २०७९-८० मा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढेको रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र थनेतले जानकारी दिए। “यही असारभित्रै हामीले एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ”, उनले भने, “वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका युवाहरूको सक्रियता र लगानीमा चिस्यान केन्द्र निर्माणको काम तीव्रगतिमा अघि बढेको हो ।” वैदेशिक रोजगारीमा गएर स्वेदश फिर्ता भएका तीन सय २५ युवाहरूले शीतभण्डारमा लगानी गरेका छन् ।
गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय पोखराको रु एक करोड ९२ लाख आर्थिक सहयोगमा शीतभण्डारको ‘स्टिल स्ट्रक्चर’ र प्यानल निर्माण भइरहेको अध्यक्ष थनेतले जानकारी दिए। निर्माणको सबै काम सकेर अबको केही दिनभित्रै एक हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालन गर्ने गरी काम अघि बढेको उनले बताए। शीतभण्डारको निर्माणको काम सकाएर पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि अझै केही समय लाग्ने अध्यक्ष थनेतले जानकारी दिए।
जर्मन प्रविधिबाट निर्माण भइरहेको अत्याधुनिक प्रविधि जडान गरिएको शीतभण्डारको लगात रु २१ करोड रहेको थनेतले बताए। शीतभण्डारमा आठवटा च्याम्बर रहने जानकारी दिँदै अध्यक्ष थनेतले फलफूल, तरकारी तथा माछामासु छुट्टाछुट्टै च्याम्बरमा भण्डारण गरिने बताए। कृषकले उत्पादन गरेका कृषि उपज शीतभण्डारमा बिक्री गर्न सक्ने उल्लेख गर्दै उनले शीतभण्डारमा तोकिएको शुल्क तिरेर कृषक आफैँले पनि आफ्ना उत्पादन सुरक्षित राख्न सक्ने थनेतको भनाइ छ ।
अहिले एक हजार मेट्रिक टन क्षमतामा शीतभण्डार सञ्चालन गरेसँगै पूर्णक्षमता तीन हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्ने गरी आपूmहरूले काम गरिरहेको अध्यक्ष थनेतले बताए। शीतभण्डारमा कृषि उपज भण्डार गर्ने कामसँगै दुग्ध प्रशोधन केन्द्रसमेत निर्माण गरिने उनले बताए । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पुँजी स्वदेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीहरूको पहलमा उक्त शीतभण्डार निर्माण हुन लागेको हो ।
वैदेशिक रोजगारमा आर्जेको सीप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले रिटर्नीहरूको पहलमा कम्पनीमार्फत चिस्यान केन्द्र, एग्रोफार्म, एग्रोमार्ट, दूध प्रशोधन केन्द्र, एग्रो रिसोर्ट एन्ड रिसर्च सेन्टर निर्माणलगायत परियोजना अगाडि सारिएको कम्पनीका बजार अधिकृत रेशम खत्रीले जानकारी दिए।





