राजनीति

प्रधानमन्त्रीको प्रश्न- एमालेले माग्नेवित्तिकै राजीनामा दिनुपर्ने हो ?

२५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेले राजीनामा माग्नेवित्तिकै दिनुपर्ने हो भन्ने प्रश्न पनि गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले आफूलाई एमालेले स्पष्टीकरणको मौका समेत नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

त्यस्तै, उनले एमालेलाई सोधे, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा ? के त्यही स्तरको हो त्यो (मेरो अभिव्यक्ति) ?’ सोमबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको सहमतिपछि संसद खुलेपछि प्रधानमन्त्रीले स्पष्टीकरण दिएका छन् ।

‘के मैले सम्मानित संसद अगाडि उभिएर भन्न पाउनुपर्दैन ? किन ३ दिन संसद अवरुद्ध गरियो मैले बुझ्न सकेको छैन’, उनले अघि भने, ‘यही हो लोकतान्त्रिक विधि र परम्परा ? के प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ?, संसदमा स्पष्टीकरणको मौका पनि नदिनुपर्ने हो ?’

एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरुद्ध गरेको थियो ।