समाचार

सीप सिकेर आफ्नै ठाउँमा स्वरोजगार

१९ साउन, दैलेख । जिल्लाको नारायण नगरपालिका–१ रातामाटेमा पुस्तौँदेखि बसोबास गर्दै आएका २६ घर दलितको आम्दानीको स्रोत भनेकै अरूकोमा काम गरेर परिवारको गर्जो टार्नु वा कामको खोजीमा कालापहाड अर्थात् (भारत) जानु बाध्यता हो ।
करिब चार दशकअघिदेखि अव्यवस्थितरूपमा भूमिहीन भएर त्यहाँ बस्दै आएका दलित परिवारमा पढे लेखेका धेरै भेटिँदैनन् । गरिबीका कारण पढ्न नपाएका त्यहाँका युवायुवती पनि मजदुरी गर्दै साँझ बिहान गाँसको जोहो गरेर दिन बिताउँछन् ।

सोही स्थान निवासी १८ वर्षीया जीवन नेपालीले पनि भारतका विभिन्न ठाउँमा रोजगारीको खोजीमा भौतारिनुका साथै अहिले आएर आफ्नै ठाउँमा ज्याला मजदुरी गर्दै दिन बित्दै आएको छ । कामको खोजीमा भारतका विभिन्न ठाउँमा धेरै दुःख उठाएको बताउनुहुने उनी अहिले आफैँ ठाउँमा हेयर कटिङ सेन्टर सञ्चालन गर्दै आएका छन् ।
पछिल्ला वर्षमा कामको खोजीमा विदेशिने युवायुवतीको सङ्ख्या बढ्दै गए पनि जीवन र उनका भाइ पुरनले ‘दाजुभाइ हेयर कटिङ सेन्टर’ सञ्चालन गरी स्थानीयस्तरमै रोजगारीमा लागेका हुन् ।

बाहिरी मुलुकमा काम गर्दा पाएको दुःख सम्झँदै आफ्नै ठाउँमा हेयर कटिङ सेन्टर सञ्चालन गरिएको जीवनले बताउनुभयो । “परिवारको खर्च धान्नलाई भारतको गुजरातस्थित एक होटेलमा काम गरेँ मालिकबाट महिनौँसम्मको पनि ठगिएँ, अनि लाग्यो आफ्नै ठाउँमा बसेर केही गर्नुपर्छ”, उनले भने।

जीवनको छ जनाको परिवार छ । उहाँको परिवारका सबैले अरूकामा काम गरेर गुजारा चलाउँदै आएका छन् । घरको जेठो छोरा भएकाले परिवारको धेरै जिम्मेवारी काँधमा बोकेर पराई मुलुकमा कामका लागि गरेको सङ्घर्षले आफ्नै ठाउँमा मेहनत गर्ने आँट पलाएको जीवनको भनाइ थियो ।

जीवनले भने, “बाहिरी मुलुकमा काम गर्न जाँदा आफ्नो पीडा कसैलाई सुनाउन पाइँदैन, सुनिदिने पनि कोही हुँदैनन्, बिरामी पर्दासमेत काममै लाग्नुपर्ने बाध्यता हुन्छ, सीप सिक्यौँभने यही रोजगारी पाइन्छ, आफैँ व्यवसायी बन्न पनि सकिन्छ ।” स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाको सहयोगमा हेयर कटिङ व्यवसायमा लाग्नुभएका २३ वर्षीया भाई पुरन पनि अहिले आफ्नै ठाउँमा खुसी छन्। कक्षा १० पास गरेका उनले गरिबीका कारण माथिल्लो कक्षा अध्ययन गर्न नपाएपछि ज्याला मजदुरी गर्न बाध्य हुँदै आएका थिए।

एक वर्षअघि घाँस काट्न जाँदा रुखबाट खसेर शक्त घाइते भएका हुन् । उनलाई जिन्दगी कसरी चलाउने भन्ने चिन्ताले पिरोल्ने गर्दथ्यो । रुखबाट खसेर आन्द्रा फुटेपछि अन्य काम गर्नसक्ने अवस्था नभएको पुरनले बताए।

“डाक्टरले बाँच्दैनसम्म भनेका थिए, दुई छोरीसहित आठजना परिवारको जिम्मेवारी काँधमा थियो, स्थानीय सरकार र सङ्घसंस्थाको सहयोगमा तालिम लिएपछि हेयर कटिङ सेन्टर सञ्चालन गरेका छौँ, अब केही हुन्छ कि भन्ने आँट पलाएको छ”, उनले भने।

महिनामा २० हजार कमाउने लक्ष्य

जीवन र पुरन हेयर कटिङ सेन्टर सञ्चालन गर्ने स्थानीय युवा हुन् । दैलेख बजारमा उनीहरू बाहेक बाहिरी जिल्लाबाट आएकाहरूले पनि कपाल काट्ने काम गर्दै आएका छन् । दैलेख बजारमा उनीहरूका साथै पाँच वटा हेयर कटिङ सेन्टर सञ्चालनमा छन् ।

पुरन र जीवनले महिनामा २० हजारसम्म कमाउने लक्ष्य लिएका छन् । बाहिरी जिल्लाबाट आएका मान्छेले मासिक हेयर कटिङ सेन्टरबाट मनग्य आम्दानी गर्दै आएका छन्, हामी स्थानीय हौँ, सबै चिने जानेकै छन्, सहकार्यमा सञ्चालन गरेको हेयर कटिङ सेन्टरबाट मासिक एक जनाले रु २० हजार बढी कमाउने लक्ष्य लिएका छौँ ।

हेयर कटिङ सञ्चालनका लागि वडा कार्यालयले रु ४० हजार र एभरेष्ट क्लब दैलेख पावर परियोजनाले रु ५० हजार आफ्नै रु २५ हजार लगानी परेको जीवनले बताए।

सीपपछि स्थानीयस्तरमा व्यवसाय सञ्चालन गर्न चाहने युवालाई वडाले विभिन्न सहयोग गर्दै आएको वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले बताए। उनले एक भैँसीपालक किसानलाई ५० हजार, हेयर कटिङ सेन्टर सञ्चालनका लागि दुई जनालाई ४० हजार र अन्य व्यवसाय सञ्चालनका लागि तीन जनालाई आर्थिक उपकरण सहयोग गरिएको जानकारी दिए। एभरेष्ट क्लब दैलेख र सेभ द चिल्ड्रेनमार्फत सञ्चालित पावर परियोजनाले रातामाटेका ती दुई युवालाई तीन सय ९० घन्टाको व्यावसायिक हेयर कटिङ तालिम दिएपछि उनीहरूलाई व्यवसाय गर्न सहज भएको एभरेष्ट क्लबका वरिष्ठ उपाध्यक्ष बालकृष्ण केसीले बताए।

युवालाई विभिन्न सीप विकास तालिमबाट क्षमता वृद्धि गर्ने र उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन परियोजनाको मुख्य उद्देश्य रहेको जनाइएको छ ।