राजनीति

नयाँ पार्टी बनाउँदा जस्तो उत्साह छैन, नेता कार्यकर्ता एमाले फर्किन थाले : खनाल

२१ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा फर्किन थालेको गुनासो गरेका छन् ।

शनिबारबाट सुरु पार्टी स्थायी कमिटी बैठकमा खनालले पेश गरेको ‘वर्तमान परिस्थितिमा ध्यान दिनुपर्ने ज्वलन्त विषयहरु’ शीर्षक दस्तावेज पेस गरेका छन् ।

उनले भनेका छन्, “विद्रोह गर्दा हामीसँग जुन जनमत थियो, त्यो खुम्चिएको छ, उपचुनाव हुँदा हाम्रो पार्टीले उम्मेदवारसम्म उठाउन सकेन । युवा विद्यार्थी दिशाहीन छन् । कार्यकर्तामा पलायन, पदलोलुपता र हताश छ ।”

त्यस्तै खनालले नेकपा एसका सांसदले सदनमा बोलेको नसुनिएको, मुख्य प्रतिद्वन्द्वीसँगै समाजवादी मोर्चालगायत गठबन्धन गरेर जाने प्रवृत्ति भएको, कार्यशैलीमा एमाले र जबजकै धङधङी रहेको बताएका छन् ।