३२ साउन, रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि नेकपा (माओवादी केन्द्र) ले लिने बताएका छन् ।
माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आज आयोजना गरेको २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले देशको व्यवस्थामा परिवर्तन ल्याउने आन्दोलन थालेको माओवादीले नै भ्रष्टाचारको अन्त्य गर्ने बताए ।
स्वाधीनता र अखण्डताका पक्षमा लडेको माओवादीले नै जनताको जीवनमा परिर्वतन ल्याउने उनको भनाइ थियो । उनले जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने बताए ।
“अहिले देशमा धेरै वेथिति छन् । तीनको अन्त्य गर्ने नेतृत्व कसै न कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिवर्तनका आन्दोलमा सहभागी भएका बलिदानीको कीर्तिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ”, प्रधानमन्त्री दाहालले भने ।
निर्वाचनका बेला ‘व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ’ भनेको स्मरण गर्दै उनले यसअघि जनताको अवस्था कसरी बदल्ने भन्नेमा अन्योल भए पनि माओवादीले अब भने बाटो पहिल्याएको बताए ।





