१ भदौं, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको आरोप लगाएका छन् ।
अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए ।
शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर डंका पिटेको बताए ।
ललिता निवास प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरूलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको भन्दै अध्यक्ष लिङ्देनले भने, “आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ । कति पार्टीहरू मिसन ०८४ भनेर कुदिरहेका छन् । देशको यही अवस्था निरन्तर रुपमा रही रहने हो भने त्यो ०८४ नआउन सक्छ । चुनावै नआउन सक्छ ।”





