अन्तर्राष्ट्रिय

पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा

१५ भदौ, एजेन्सी । पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार आइपुगेका छन् ।

बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उनको पहिलो औपचारिक भ्रमण हो । छयासी वर्षीय पोपको चारदिने मङ्गोलिया भ्रमण यो देशमा रहेका करिब एक हजार चार सय क्याथोलिक समुदायका लागि समर्थन जुटाउन अधिकतम उपयोग हुने बताइएको छ ।

अर्जेन्टिनाका नागरिक पोप बिहीबार रोमबाट मङ्गोलियाको राजधानी उलानबाटारको लागि प्रस्थान गरेका छन् । नौ घण्टाको विमान यात्रा पूरा गरेपछि उलानबटार विमानस्थलमा अवतरण गरेका उहाालाई विदेशमन्त्री बाटमुन्ख बत्तसेसेगले स्वागत गरेका थिए ।

विमान उडेको केही बेरमा आफूसँगै रहेका पत्रकारहरूसँग मङ्गोलियाको विशाल भूभाग तर कम जनसङ्ख्या भएको देशबारे अनुमान गर्न सकिने बताउँदै कूटनीति भने गाह्रो कर्म भएको उल्लेख गरे। कहिलेकाँही कूटनीतिमा हास्यको भावना पनि चाहिने उनले बताए।

चिनियाँ हवाई क्षेत्र पार गरेर मङ्गोलिया आएका पोपले चिनियाँ राष्ट्रपति सी चीनफिङलाई टेलिग्राम सन्देश पठाएर अभिवादनसहित उनीप्रति शुभकामना व्यक्त गरेका । चीनको हित, शान्ति र एकताका लागि ईश्वरीय आशीर्वादको प्रार्थना गरेको उल्लेख गरेका छन् ।

गत सेप्टेम्बरमा कजाकिस्तानको भ्रमणपछि पोप फ्रान्सिसको यस क्षेत्रमा भएको यो दोस्रो भ्रमणको भूराजनीतिक एवम् रणनीतिक महत्व छ । यो भ्रमणलाई मङ्गोलियाको कमजोर लोकतन्त्रलाई सुदृढ तुल्याउन प्रोत्साहन गर्ने र गिर्जाघरलाई देशका विभिन्न भागमा सहज प्रवेश गर्न सघाउने विश्वास गरिएको छ ।

मध्य एसियाप्रतिको होली सी दृष्टिकोण तथा रूस र चीनसँगको सहकार्यलाई निरन्तरता दिने नीतिका रुपमा बुझ्न क्याथोलिक धर्मका विद्वान् मिशेल च्याम्बोनले एएफपीलाई बताएका छन् ।