समाचार

‘दिव्य शताब्दी पुरुष’ डा. लाल दासलाई नागरिक अभिनन्दन

९ असोज, काठमाडौँ । दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पु¥याएकामा उहाँलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो ।

मूल समारोह समितिले आज यहाँ आयोजना गरेको अभिनन्दन कार्यक्रममा समाजसेवी डा दासलाई कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दनपत्रद्वारा सम्मान गरे । उनलाई गत भदौ ३० गते नागरिक समाजको तर्फबाट दिव्य शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिकातर्फबाट उनलाई अभिनन्दन गरिएको हो । वरिष्ठ चिकित्सक डा दासलाई नागरिकस्तरबाट विभिन्न निकाय र सङ्घसंस्थाकाका तर्फबाट पनि दोसल्ला र प्रसंशापत्रसहित अभिनन्दन गरिएको थियो । त्यस्तै पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालगायतले उनलाई माल्यार्पण गरी अभिनन्दन गरे ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा सेवा, मानव अधिकार, व्यवस्थापन, समाजसेवा र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान गर्नुभएका शिखर व्यक्तित्व डा दासको बहुआयामिक व्यक्तित्व र अमूल्य कार्यप्रति सबैले उच्च सम्मान र गौरव गर्नुपर्ने बताए । उनले डा दासको सम्मानमा सरकारका तर्फबाट आयोजक समितिसँग परामर्श गरी उहाँलाई राज्यका तर्फबाट हुने सम्मानबारे सम्बन्धित मन्त्रीले प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएको र यसलाई मूल समारोह समितिसँग परामर्श गरेर मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरिने बताए ।

“डा दासले निजी एवं पारिवारिक स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रलाई अतुलनीय योगदान गर्दै आउनुभएको र आफ्नो सम्पूर्ण जीवननै परोपकारमा समर्पण गर्नुभएको छ । पून्य कर्मले जीवनलाई सार्थक बनाउनुभएको छ”, कार्यवाहक प्रधानमन्त्री खड्काले भने ।

उनले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य, अतुलनीय र अविष्मरणीय योगदान दिएका व्यक्तिहरूको अभिनन्दन गरी यथोचित सम्मान गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति अभिन्न अङ्ग रहेको स्मरण गरे । उहाँले देश, जनता र समाजको समग्र विकासका लागि योगदान पु¥याउने अग्रणी व्यक्तित्वहरूलाई सम्मान गर्न सरकार सदैव तत्पर छ भने ।

कार्यवाहक प्रधानमन्त्री भने, “राष्ट्रको विविधतालाई स्वीकार्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाती, भाषा, वर्ग क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि सरकार दत्तचित्त भएको कुरा जानकारी गराउदछु ।”

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले विगतमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई राष्ट्र कविको उपाधीद्वारा सम्मान गर्नुका साथै सताब्दी पुरुष सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरुष घोषणा गरी उनीहरुको जीवनकालमा विविध कार्यक्रमसहित राष्ट्रिय स्तरमा सम्मान गरिएको पनि स्मरण गराए । उनले सरकारका तर्फबाट समकालीन शिखर व्यक्तित्व डा दासलाई दीर्घ जीवनको शुभकामना व्यक्त गर्दै सबैलाई उहाँजस्तै लोककल्याणको कार्यमा आजीवन समर्पित हुन थप प्रेरणा र ऊर्जा मिलोस् भनी कामना गरे ।

सिरहाको इनरवामा विसं १९८१ मा बुबा जनार्दन लाल दास र आमा स्व भवानी देवीको कोखबाट जन्मिएका डा दासले वीर अस्पतालबाट चिकित्सा सेवा आरम्भ गरी सात दशकदेखि विभिन्न निकाय र क्षेत्रमा योगदान दिइरहेका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय छन् ।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गरेका डा दासले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको हो । उनले राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालयलगायतमा सरकारी सेवा गर्नुभएको थियो । विभिन्न प्रतिष्ठित संस्थामा सामाजिक कार्यगरी धेरै सङ्ख्यामा पुरस्कार र सम्मान पाएका छन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राष्ट्र र जनताका लागि अतुलनीय योगदान गर्नुभएका दिव्य शताब्दी पुरुष डा दासलाई राज्यका तर्फबाट उच्च सम्मान, मासिक वृत्ति तथा उहाँको सममानजनक जीवन यापनको लागि सरकारले आवश्यक प्रवन्ध गर्ने जानकारी दिए । उक्त प्रयोजनका लागि मन्त्रिपरिषद्बाट गरिने निर्णयका लागि आवश्यक प्रक्रिया मन्त्रालयले अगाडि बढाएको उल्लेख गरे ।

वन तथा वातावरणमन्त्री डा विरेन्द्रप्रसाद महतोले युग पुरुष डा दासले राष्ट्रका लागि पुनित कार्य र प्रेरणादयाी उपदेश दिनुभएको भन्दै उनको मार्ग दर्शनलाई सबैले शिरोधा¥य गर्नुपर्ने धारणा राखे । पूर्व उपराष्ट्रपति परमानन्द झाले डा दास शरल, मिलनसार र सामाजिक क्षेत्रमा गरेको योगदानलाई अहिलेको पुस्ताले अनुशरण गर्नसक्नुपर्नेमा जोड दिए ।