राजनीति

सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न सकेन : उपाध्यक्ष शाक्य

२१ असोज, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गरेकी छन् । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल हस्तकला महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक रेशामा प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उनले सरकारको प्राथमिकतामा कहिल्यै पनि उद्योग क्षेत्र पर्न नपरेको दाबी गरिन् ।

“सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको भए नेपालमा रहेका धेरै उद्योग डुब्ने थिएनन्, अहिले पनि उद्योग क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन”, उनले भनिन् ।

उनले आफू उद्योगमन्त्री भएकाले बेला उद्योग नीति परिमार्जन गरेको स्मरण गर्दै उद्योग क्षेत्रको विकासबिना मुलुकको विकास सम्भव नभएको बताइन । उनले नेपालमा प्राकृतिक रेशाजन्य पदार्थ थुप्रै भए पनि तिनीहरुलाई भरपुर प्रयोग गर्न नसकेको उल्लेख गरिन् ।

विज्ञ व्यक्ति, अनुसन्धानकर्ता र नेपाल हस्तकला महासङ्घ मिलेर प्राकृतिक रेशाजन्य पदार्थको अध्ययन, अनुसन्धान, उत्पादन र बजारीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो । उनले उद्योगको विकासका लागि प्रविधिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् ।

हस्तकला महासङ्घ उद्योगी व्यवसायीकोे अभिभावक संस्था बनेर अगाडि बढ्नुपर्ने उपाध्यक्ष शाक्यको भनाइ थियो । उनले राजनीतिक उतारचढावका कारण मुलुकको अर्थतन्त्र र उद्योग क्षेत्रमा समस्या आएको बताइन ।

व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वका अन्य मुलुकमा नभएका प्राकृतिक रेशाजन्य पदार्थ नेपालमा भएकाले यसलाई भरपुर उपयोग गर्नुपर्ने बताए ।

“मुलुक समृद्ध बन्नका लागि हामीसँग भएका वस्तुलाई उत्पादन गरेर विदेशी बजारसम्म लैजानुपर्छ”, उनले भने । कार्यकारी निर्देशक राणाले नेपालमा भएका हस्तकला उद्योगले महिलाको सहभागितालाई समेत बढाउँदै लगेको बताए ।