राजनीति

५० लाख भूकम्प पीडितका लागि हस्तान्तरण गर्दै काँग्रेसले भन्योः उद्धार, राहत र पुनःनिर्माणका लागि लाग्नुस्

२१ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई भूकम्पपश्चात् राहत, पुनःस्थापना र पुनःनिर्माणलाई थप व्यवस्थित बनाउन सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पदाधिकारीसहितको कांग्रेस प्रतिनिधिमण्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि तत्कालीन र अल्पकालीन उपाय अपनाउन सुझाव दिएको हो ।

पार्टीले  भूकम्पलगत्तै सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसासमेत गरेको छ । जाजरकोट केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र पश्चिम रूकुममा ठूलो जनधनको क्षति भएको छ । तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनःनिर्माणका काम नौ बुँदामा सरकारलाई सुझाव दिइएको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहाललाई सुझाव दिन सभापति देउवा, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

राहत, उद्धार र पुनःस्थापनाको कार्यमा एकद्वार प्रणालीमार्फत प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर सङ्घीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने  पनि सुझाउनाका साथै   कांग्रेसले भूकम्पपीडितलाई राहतस्वरुप यसअघि घोषणा गरेको रु ५० लाखको चेक पनि हस्तान्तरण गरेको थियो ।