राजनीति

टिकटक बन्द गर्ने काँग्रेसको निर्णय होईन, देउवाको सहमती भएपनि मानिन्नः गगन थापा

२८ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले टिकटक बन्द गर्ने बिषयमा माओबादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भनेजस्तो काँग्रेससंग सहमती भएको भन्ने कुरा गलत भएको बताएका छन् ।
उनले कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेस सँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ? भन्दै प्रधानमन्त्रीसँग प्रश्न तेर्स्याएका छन् ।
उनले तिनबुँदामा असहमती गर्दै उक्र टिकटक बन्द गर्ने सरकारको निर्णय मान्य नहुने भन्दै त्यस्ता पार्टी प्रमुखहरु मिलेर निर्णय गरेको भएपनि आफुलाई मान्य नहुने बताए । नेता थापाले हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं भन्ने प्रतिबद्धता गरेका छन् ।

टिकटक बन्द गर्ने काँग्रेसको निर्णय होईन काँग्रेस सभापति शेरबहादुर देउवा एबम् नेताहरुको सहमती भएपनि मानिन्न भन्ने उनले संकेत गर्दै कडा ट्वीट गरेका छन् ।

उनको ट्वीटः

प्रधानमन्त्रीले भन्नुभएछ– ‘सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो।’
प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेस सँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?

१) प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्।
यो तपाईँहरू बिचको समझदारी हो पार्टीहरू बिचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ।

अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन।

२) यहीँ प्रसङ्गमा कति साथीहरूले, ‘सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ?’ भन्ने कुरा उठाउनु भएको छ।
त्यसको उत्तर हो, मिल्छ। गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौं, आज पनि र भोली पनि भन्छौं। सत्तामा हुँदा गलत पनि ठिक र त्यही कुरा प्रतिपक्षमा हुंदा गलत भन्ने हुंदैन।

बरु, सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत हो।

३) जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन। हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं।
हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन।