६ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ ।
राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधिसभामा पेस गर्ने छन्
प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यस्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।





