१६ जेठ, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारीमा गैर सहकारीवालाको प्रवेश भएको बताएका छन्। एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गैर सहकारीवालाकै कारण सहकारीमा संकट उत्पन्न भएको बताए। सहकारीमा ठग्नकै निम्ति ती व्यक्तिहरू सहकारीमा आएको उनको भनाइ छ।
‘साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरु सहकारी प्रवेश गरेको हुनाले केही ठूला सहकारी बद्नाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन्’ अध्यक्ष ओलीले भने,’ तर साँच्चैका सहकारीहरु संकटग्रस्त हुँदैनन्, छैनन् पनि । ती त्यसका आफ्ना नियमहरु छन् । ती नियम अन्तर्गत त्यसमा नियममा बसेर त्यसको पालना गरेर हामी अगाडि बढ्नुपर्छ । महिला दिदीबहिनीहरुले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्छ । महिला दिदीबहिनीहरुले घर, परिवार र देश केहीा पनि पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनु पर्दछ ।’ उनले भने।
उनले एमालेलाई सबै क्षेत्रमा निर्णायक बनाएर लैजानुपर्ने बताए। निर्णायक ठाउँमा लगेर नीति निर्माण बनाउने र देशको सार्वभौमसत्तालाई बचाउने अभियानमा लाग्न उनले महिलाहरूलाई निर्देशन दिएका थिए।





