१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताएका हुन् ।
उनले भने, ‘अब समाजवादको एउटा नयाँ यात्रातिर हामी छौँ । त्यहाँ भनिएजस्तै समाजवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि एउटा ठूलो शक्ति सञ्चयको अपेक्षा गर्दछ । आफ्नो देशभित्र मात्रै होइन, विश्वभरका श्रमीकहरुसँग, सबै न्यायप्रेमी जनसमुदायसँग एउटा ठूलो एकताको अपेक्षा राख्दछ । हामीले समाजवादी क्रान्तिको कुरा गर्दा हामीले भनेका के छौँ भने अहिले आधार निर्माण गर्ने कुरालाई मुख्य भनेका छौँ । हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु नै हो । हामी कोही कन्फ्युजनमा बस्नु हुँदैन । हामीले अहिले समाजवादी मोर्चा बनाउने कुरा वा वामपन्थी ध्रुवीकरणको निम्ति पहल गर्ने कुरा समाजवादको आधार तयार पार्नेकुरासँग नै सम्बन्धित छ । हामी कोही दुविधामा बस्न हुँदैन ।”





