६ असार, काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले मिडिया ट्रायलले मुद्दा निरुपणमा कुनै असर नपार्ने दावी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१र०८२ को विनियोजन विधेयकको विभिन्न शीर्षकमा मन्त्रालयगत छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गिरीले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालयको व्यवस्था गरेकाले मुद्दा निरुपणमा मिडिया ट्रायलले कुनै असर नगर्ने दावी गरेका हुन्।
उनले भने “मिडिया ट्रायलको आधारमा मुद्दाको फैसलाहरू प्रभावित हुन्छ कि हुँदैन भनेर माननीयज्यूहरूले प्रश्न गर्नुभएको छ। यो अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण विषय हो। नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालयको व्यवस्था गरेको छ। तसर्थ मिडिया ट्रायलले कुनै पनि मुद्दामा प्रभाव पार्ने र कुनै अर्थ राख्दैन। यो कुरा म सदनलाई विश्वस्त पार्न चाहन्छु, सम्मानित अदालतले ऐन, कानुन र तथ्य प्रमाणका आधारमा फैसला गर्थ्यो, गर्छ र गर्नेछ।”





