१९ असार, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले चाँडोभन्दा चाँडो निकास सरकारलाई दिन आग्रह गरेका छन् ।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्नेक्रममा उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौं । खोलौं न सबै फाइल खोलौं । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौं । फाइल खोल्ने धम्की नदिऔं । ब्ल्याकमेलिङको राजनीतिक नगरौं । कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, के-के खोल्ने हो खोलिन्छन् ’
उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौं । चाँडोभन्दा चाँडो सरकारले निकास दिनुपर्यो । चाँडोभन्दा चाँडो सरकारमा जान चाहन्छौं । यो स्पष्ट कुरा हो ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका साँसद बस्नेतले फाईल खोल्ने धमकी दिनुभन्दा पनि तत्काल फायल खोलेर अपराधीलाई पक्राउ गर्न चेतावनी दिएका छन् । उनले सबै प्रहरी प्रशासन उपप्रधान तथा गृहमन्त्रीका हातमा भएकाले तत्कालै त्यस्ता भ्रष्टलाई जो भएपनि पक्राउ गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बारम्बार धोका दिँदा-दिँदा दुई धोका खाएका व्यक्तिहरु दुई ठूला पार्टी एक भएका छन् । कांग्रेसले पनि धोका खायो, एमालेले पनि बारम्बार धोका खायो । प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ भने एउटा खुट्टाले यताबाट हान्छु, अर्को खुट्टाले उताबाट हान्छु बल खेलेको खेल्यै गर्छु भन्नुहुन्छ । बल खेल्न नदिउँ भनेर यो सहमति भएको छ’





