राजनीति

प्रदिप पौडेलको ओलीलाई सुझावः यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस्

२४ असार, काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति नभएको दाबी गरेका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुरा गर्दै उनले जीवन र राजनीतिको उत्तरार्धमा रहेकाले पनि देश र जनताको लागि काम गर्न आग्रह समेत गरेका छन् ।

उनले भने, ‘केपी ओलीज्युले प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन । झन्डै दुई तिहाईले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्ने सक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’