२५ असार, काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष के उद्देश्यले माओवादीसँगको सहकार्य तोडेको भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले एमाले अध्यक्ष ओलीले माओवादीसँग के कारणले सहकार्य गरेको र अहिले के कारणले भत्काएको ? भनेर जवाफ दिनुपर्ने टिप्पणी गरे ।
उनले भने,‘सम्माननीय सभामुख महोदय, हामी सबैलाई थाहा छ कि आजभन्दा चार महिना अगाडि कमरेड केपी ओलीकै पटक पटकको प्रस्तावमा कम्युनिष्टहरु मिल्ने भन्नुभयो, उहाँको प्रस्तावमा कमरेड प्रचण्डले स्विकार्नुभयो । विश्वास गर्नुभयो । त्यो विश्वासको जगमा त्यो राजनीतिक सहकार्य सरकार सहकार्यसँग जोडिनुपर्छ भन्नुभयो, त्यहीअनुसार अघि बढियो । तर, उहाँले जुन उद्देश्यले सहकार्य गर्नुभयो, अहिले आएर त्यो सहकार्य तोड्नुभयो । मैले कमरेड केपी ओलीलाई प्रश्न गर्नैपर्छ–तपाईंले कुन उद्देश्यले सहकार्य तोड्नुभयो ?’





