५ साउन, उदयपुर । वर्षाका कारण जिल्लाका मध्य, पश्चिमी तथा उत्तरी पहाडी क्षेत्रमा ग्रामीण सडक भत्किएर यातायात सेवा अवरुद्ध भएको धेरै दिन बित्दासमेत सञ्चालनका लागि पहल भएको छैन ।
यहाँका मुर्कुची, पुवाँरे, डिल्लीबर हुँदै माझखर्क लिम्चुङबुङ जोड्ने ग्रामीण सडक तथा जाँतेसहित गाईघाट दिक्तेल सडकअन्तर्गत रसुवा, बालाम्ता, ताम्लिछा, लाफागाउँ जोड्ने मध्य र उत्तरी पहाडी क्षेत्रका सडक वर्षाका कारण अवरुद्ध छन् । यीमध्ये केही सडकमा एक हप्ता र केहीमा एक महिना यातायात सेवा अवरुद्ध छ ।
रौतामाई गाउँपालिका–७ माझखर्कका फुर्बा शेर्पाले साउनको पहिलो हप्तादेखि नै आफ्नो क्षेत्रमा सडक अवरुद्ध भएपछि अन्यत्र आवतजावत गर्न समस्या भएको बताउनुभयो । यातायात सञ्चालन हुननसक्दा पैदलयात्रा गर्न बाध्य हुनुपरेको उनको भनाइ छ ।
यातायात व्यवसायी हेम खपाङ्गी मगरकानुसार मुर्कुची, पुवाँरे, डिल्ली र माझखर्क क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको करिब एक महिना बत्नि लाग्दा पनि सञ्चालनका लागि ठोस पहल नभएको गुनासो गरे । यसले स्थानीय नागरिक र यातायात व्यवसायी दुवै मारमा परेका छन् ।
लिम्चुङबुङ–५ बलाम्ताका प्रेम राई यातायात सञ्चालन नहुँदा चार घण्डा पैदल हिँडेर बजार पुग्नुपरेको बताउछन्, “वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएको तीन हप्ता भइसक्यो, यहाँ मोटरसाइकलसमेत सञ्चालन हुन नसक्दा आफूहरू यातायातका लागि चार घण्टा तल रसुवाघाट वा ६ घण्टा परेको मुर्कुची बजारसम्म पैदलयात्रा गरेर पुग्नुपर्ने बाध्यता छ ।”
सडक अवरुद्ध भएपछि अधिकांश गाउँले पैदल हिँडेर अन्यत्र आवतजावत गर्न बाध्य भएको ताम्लिछाका मनोज कार्की बताउछन् ।
ताप्ली गाउँपालिकाको पिलभन्ज्याङ, नुनथला, राउतखर्कसहितका सडक पनि अवरुद्ध छन् । पीपलभन्ज्याङका तेपबहादुर राईले यस क्षेत्रमा साना सवारी साधनसमेत सञ्चालन हुननसकेका बताए । उनकानुसार यहाँ खुलेका अधिकांश कच्ची ग्रामीण सडक हालसम्म ‘ग्राभेल’ तथा कालोपत्र भएका छैनन्, जसले गर्दा रहेक वर्षायाममा यस्तै समस्या हुने गरेको छ । वर्षाका कारण खाल्डा पर्ने, पहिरोले पुरिने, भत्कने गरेका कारण यी सडकमा साना सवारी साधन मोटरसाइकल पनि सञ्चालन गर्न सकिँदैन । “गाउँघरमा कोही बिरामी भएमा अन्यत्र उपचार गर्न लैजाँला निकै समस्या हुने गरेको छ । दैननदिनका समस्या त छँदैछन् । वर्षायाममा हरेक वर्ष यस्तै समस्या हुने गरेको छ तर सडक स्तरोन्नति गर्न सरोकार भएकाहरूको ध्यान गएको छैन”, राईले गुनासो गरे ।
लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पकुमार राई हरेक वर्ष हुने यस्ता समस्या समाधानका लागि गाँउपालिकाको प्रयास प्रयाप्त नभएको बताउछन् । “वर्षाले हरेक वर्ष सडक भत्काउँदा यातायात सेवा अवरुद्ध हुन्छ । यसबाट नागरिकले भोग्नुपरेका समस्याबारे हामी जानकार छौँ तर हाम्रो स्रोतसाधनले मात्रै समस्या समाधान हुने अवस्था छैन”, उनले भने,“दीर्घकालीन समस्या समाधानका लागि प्रदेश र सङ्घीय सरकारले सहयोग गर्न आवश्यक छ । हामीले गर्नसक्ने भनेको वर्षा कम हुँदै गएपछि भत्किएका सडक स्काभेटर प्रयोग गरेर पुनः सञ्चालन गर्ने हो, त्यसका लागि पहल गछौँ ।”





