अन्तर्राष्ट्रिय

ओलम्पिकको संदिध षड्यन्त्रमा रुसीको गिरफ्तारीबारे जानकारी नभएको क्रेमलिनको भनाइ

११ साउन, काठमाडौँ । पेरिस ओलम्पिकलाई लक्षित गर्ने संदिग्ध ‘अस्थिरता’ षड्यन्त्रको आरोपमा फ्रान्समा एक रुसी व्यक्तिको गिरफ्तारीका बारेमा मस्कोलाई जानकारी नभएको क्रेमलिनका प्रवक्ताले शुक्रबार बताएका छन् ।

ती व्यक्तिलाई मङ्गलबार पेरिसमा पक्राउ गरिएको थियो तर क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई फ्रान्सले रुसी अधिकारीहरूलाई जानकारी नगराएको बताए ।

“हामीलाई कुनै जानकारी छैन, हामीले मिडिया रिपोर्टहरू देख्यौँ, पेरिसमा हाम्रो दूतावासलाई हिरासतका बारेमा जानकारी गराइनुपथ्र्यो, हामीलाई आशा छ दूतावासलाई जानकारी गराइनेछ”, उनले भने । पेसकोभले मामिलाका बारेमा मिडियो रिपोर्टहरूलाई ‘धेरै उत्सुक’ बताए ।

फ्रान्सेली अभियोजकहरूले सन् १९८४ मा जन्मिएका ती व्यक्तिमाथि ‘फ्रान्समा शत्रुता भड्काउन विदेशी शक्तिलाई गुप्तचर हस्तान्तरण गरेको’ आशङ्का गरिएको बताएका छन् ।

ले मोन्डे अखबारका अनुसार प्रहरीले उनको अपार्टमेन्टमा ‘कूटनीतिक चासोका’ दस्तावेज फेला पारेको थियो । उनी रियालिटी टिभी कार्यक्रमहरूमा देखा परेको तथा फ्रान्सेली स्कि रिसोर्टमा सेफका रूपमा काम गरेपछि रुसी एफएसबी गुप्तचर सेवाका लागि काम गरेको शङ्का गरिएको थियो ।

“उनी अस्थिरता, हस्तक्षेप, जासुसीको सञ्चालन व्यवस्थित गर्न गइरहेका थिए भन्ने हामी दृढतापूर्वक सोच्दछौँ”, फ्रान्सका गृहमन्त्री गेराल्ड डर्मानिनले बुधबार बिएफएम टेलिभिजनलाई भने, “उनी अब न्याय प्रणालीमा छन्, यसले प्रहरीको सन्देहको पुष्टि गर्न सक्षम हुनेछ ।”

युक्रेनमा क्रेमलिनको आक्रमणका कारण मस्कोका करिब सबै खेलाडी पेरिस ओलम्पिकबाट बाहिरिएका छन् । तटस्थका रूपमा १५ खेलाडी मात्र प्रतिस्पर्धा गर्न तयार छन् ।

शुक्रबार ओलम्पिक उद्घाटन समारोहभन्दा केही घन्टाअघि रेल तोडफोडका कारण फ्रान्सको उच्च–गतिको रेल नेटवर्कमा अवरोध पुगेपछि ‘आधारभूत राष्ट्रिय हितहरू’ लाई कमजोर पारेकामा अनुसन्धान सुरु गरिएको पेरिस अभियोजकहरूले बताएका छन् ।