समाचार

अध्यक्ष यादव मनिला प्रस्थान गर्दै

१३ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला प्रस्थान गर्दै छन् । एशियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन सोकडेम एसिया प्यासिफिकको यही जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

मलेसिया एयरलाइन्सको विमानबाट आज राति ११ः३० बजे मनिला जान लागेका अध्यक्ष यादवसँगै जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहनेछन्।

अध्यक्ष यादवले जुलाई ३१ मा प्रोग्रेसिभ अलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यपत्र प्रस्तुत गरी उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । जुलाई ३० का दिन विदेश विभाग प्रमुख अर्जुन थापाले समेत सम्बोधन गर्नेछन् ।

सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरु सहभागी हुँदैछन् । जुलाई २९ मा उद्घाटन हुने उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ ।

त्यस अवसरमा अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटिजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागि हुने कार्यक्रम छ । जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य हो । अध्यक्ष यादव यही साउन १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।