समाचार

ऊर्जा उत्पादकको मनोबल बढाउने गरी काम गर्नुपर्छः अर्थमन्त्री पौडेल

१३ साउन, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानका पदाधिकारीसँगको भेटमा अब बिजुली पुग्यो भन्ने अवस्थामा मुलुक नपुगिसकेकाले ऊर्जा उत्पादनकलाई हौसला दिनुपर्ने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको उल्लेख गर्दै प्रतिव्यक्ति विद्युत् खपत बढाउन अझ धेरै बिजुली आवश्यक हुने भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको मनोबाल बढ्नेगरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा ऊर्जा क्षेत्र यहाँसम्म आउनुमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताए । उनले साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भएका, ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन रहेका र ३९ सय मेगावाट बराबरकै १३६ आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता पीपीए भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको तथ्याङ्क अर्थमन्त्री पौडेलसामु राखेका थिए ।

यस्तै सर्वेक्षण सम्पन्न भइ निर्माणका लागि विद्युत् विकास विभागमा आवेदन दिएका १० हजार सात सय र निर्माण अनुमति लिएर पीपीएका लागि प्राधिकरणमा आवेदन दिएका १० हजार मेगावाटका आयोजनामध्ये पनि ८० प्रतिशत निजी क्षेत्रको अगुवाइमा अघि बढिरहेको पनि कार्कीले बताए ।

निजी क्षेत्रले नेपालको ऊर्जा विकासमा आक्रमक ढङ्गले अघि बढिरहेको बेला नेपाल सरकारले गत जेठमा सार्वजनिक गरेको वित्त नीति र नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले ऊर्जा विकासमा संलग्न सम्पूर्ण निजी क्षेत्र उत्साहित हुन नसकेकोले निजी क्षेत्र उत्साहित हुने गरी ऊर्जा उत्पादकका सवालहरु सम्बोधन गरिदिन इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले अर्थमन्त्री पौडेलसँग आग्रह गरे।