१६ साउन, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँतिहार चाडपर्व नजिकिँदै गर्दा राजमार्र्गमा आउने सबैखाले अवरोध हटाएर जनतालाई सुरक्षित यात्रा गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अवरोध भएको खण्डमा तुरुन्तै व्यवस्थापन गर्ने प्राविधिक टोली तैनाथ गरिने जानकारी दिए ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा उनले जनताले सडकको सास्ती खेप्न नदिन मन्त्रालय सचेत रहेको बताए । “हामी सडक सहज र यातायात सुरक्षित बनाउन योजनाबद्ध भएर काम गर्ने प्रतिबद्ध छौँ”, उनले भने, “खासगरी पर्वका बेला जनताले खेप्ने सास्ती हटाउने प्रयासमा छौँ ।”
बैठकमा सांसदहरूले नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार र नागढुङ्गा सुरुङमार्गको अनुगमनगरी मन्त्रीसमक्ष अवस्थाबारे जानकारी गराएका थिए । साथै सांसदहरूले नागढुङ्गा–मुग्लिङ सडक खण्डलको दयनीय अवस्था रहेको र चाडपर्व नजिकिँदै गर्दा जतिसक्दो चाँडो व्यवस्थापन गर्न मन्त्रालयलाई सुझाव दिए । सुरुङमार्ग निर्माणमा देखिएका जटिलताका बारेमा सांसदहरूले छलफल चलाएका थिए ।
अनुगमन गर्दा सुरुङ निर्माणका क्रममा पूर्वी ‘पोर्टल’ मा रहेका घरहरू चर्केको, सिङ्क होल उत्पन्न भएकाले आयोजनाको काम पटकपटक बन्द भएको, बलम्बु फ्लाई ओभर निर्माण हुने क्षेत्रमा भएको समस्या, जग्गाप्राप्तिका विषयमा विविध समस्या रहेको, अधिग्रहण भएको जग्गा र मुआब्जामा समस्या देखिएको, आयोजनाको पश्चिमद्वार नजिकै निर्माण हुने ‘रोड साइड सर्भिस स्टेशन’ का लागि प्राप्त गर्नुपर्ने जग्गा स्वामित्वका बारेमा विवाद रहेको सांसदहरूले निष्कर्ष निकालेका थिए ।
सडक विभागका महानिर्देशक रामहरि पोख्रेलले सुरुङ निर्माणमा जग्गाको मुआब्जा दिन सम्भव नरहेको बताए । जग्गा मुआब्जा दिन थाल्ने हो भने निर्माण कार्यमा निकै असर पर्ने उनले जानकारी दिए ।





