प्रदेश 1

वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो

२० साउन, पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।

आव २०७/८० मा वीरगञ्ज नाका प्रयोगगरी रु ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा रु ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए । उनका अनुसार ११ हजार दुई सय ३८ मेट्रिकटन कम ग्यास अयात भएको हो ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिलो आवमा वीरगञ्ज नाकाबाट १७ अर्ब ३१ करोडको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटरकेल हवाई इन्धन आयात भएकामा गत आवमा १८ अर्ब २१ करोडको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ ।

सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए । वीरगञ्ज नाकाबाट आव २०७९/८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उनले जानकारी दिए ।

आव २०७९/८० मा एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार पाँच सय छ केल डिजल ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार सात सय ११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार पाँच सय २० केल डिजल ३९ अर्ब दुई करोडको तीन लाख ९४ हजार सात सय २३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए । उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ ।