२६ साउन, काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी कानुन कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यत्तिकै सक्षम रहेको बताएका छन्।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन कठिन परिश्रम गर्नुपर्ने क्षेत्र भएको बताए ।
साहित्यमा ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता पर्ने बताउँदै उनले आम जनमानसमा रहेको प्रहरीप्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको उल्लेख गरे ।
अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयामिक प्रतिभासमेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथासङ्ग्रहको लोकार्पणले प्रष्फुटित गरेको महानिरीक्षक कुँवरले उल्लेख गरे ।
वंश परम्परासम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेदजस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवं राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ सामाजका विविध पक्षहरूलाई उजागर गर्दै उनले नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनका रूपमा रहने अपेक्षा लिएको बताए ।
उक्त अवसरमा प्राज्ञ डा मधुसुदन गिरीले ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र डा भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए ।





