समाचार

अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न उद्योगमन्त्रीको निर्देशन

३० साउन, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई निर्देशन दिएका छन् ।

खाद्य तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्त भएका प्रकाशप्रसाद पोखरेललाई आज नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रममा मन्त्री भण्डारीले यसअघि निमित्तको भूमिकामा रहेका अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न निर्देशन दिएका हुन् ।

यसैगरी मन्त्री भण्डारीले खाद्य तथा व्यापार कम्पनी लिमिटेड तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड गरी दुवै संस्थानले सन्तोषजनक परिणाम दिन नसकिरहेकाले वर्तमान चुनौतीलाई अवसरमा बदलेर परिणाममुखी काम गरेर देखाउन र संस्थाको गरिमा जोगाउन प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।

“अनुकूलतामा जोकोहीले काम गरे पनि प्रतिकूलतामा काम गरेर उत्कृष्ट परिणाम दिनसक्नुपर्छ”, मन्त्री भण्डरारीले भने, “तपाईहरू दुवै जनाले यी संस्थालाई उकास्न, संस्थाको गरिमा जोगाउन मजबुत तवरको भूमिका निर्वाह गर्नुपर्छ, मेरो शुभकामना छ ।”

मन्त्री भण्डारीले अहिले काम गर्न नसक्ने छुट कसैलाई नभएको बताउँदै खाद्य तथा व्यापार कम्पनी लिमिटेड तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा नियुक्त भएका दुवै जनाको परीक्षणकाल आजदेखि सुरु भएको बताए । उनले भने, “अब तपाईहरूको पहिलो तीन महिनाको काम हेरिन्छ, त्यो अवधिमा सक्नुभएन भने तपाई आफैँले पुनःविचार गर्नुपर्ने हुन्छ ।”

“सरकारले तपाईहरुलाई जसरी विश्वास गरेको छ । त्यसअनुरुप काम गर्न सक्नुपर्छ अहिले तपाई हामी सबै परीक्षणमा छौँ । क्रमशः छ महिना गर्दै थप समय परीक्षण गरिनेछ । आफू मातहतका संरचनामाथि प्रश्न उठ्ने काम नगर्नु होला,” मन्त्री भण्डारीले भने ।

नवनियुक्त दुवै जनालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुसुदन बुर्लाकोटीले नियुक्तिपत्र प्रदान गरेका थिए । नवनियुक्त दुवै जनालाई मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।