समाचार

सहिद केशव कोइरालाको ५०औँ सहादत दिवस सम्पन्न

३१ साउन, महोत्तरी । नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर सहिद केशव कोइरालाको ५०औं सहादत दिवस आज मनाइएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ राम माध्यमिक विद्यालय परिसरस्थित सहिद केशव कोइराला स्मारकस्थलमा निर्मित सहिद प्रतिमामा माल्यार्पण र श्रद्धासुमन व्यक्त गर्दै ५०औँ सहादत दिवस मनाइएको हो ।

कार्यक्रममा मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले सहिदप्रति सम्मान व्यक्त गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहिद कोइरालाको सहादतले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध लाग्न आम मटिहानीवासीलाई प्रेरित गरेको बताए । मण्डलले सहिदको योगदान र सहादतलाई पछिसम्म सम्झना राख्न सहिद केशव कोइरालाका नाउँमा उद्यान, स्मारक र सभाहल निर्माण गरिएको उल्लेख गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक सङ्संस्थाका प्रतिनिधिले सहिद केशव कोइरालाको सङ्घर्षपूर्ण जीवनबारे प्रकाश पारे। नेपाली कांग्रेसका बैजनाथ मण्डल, नेपाल कम्यनिष्ट पार्टी एमालेका जुगेश्वर खत्बे, नेकपा माओवादी केन्द्रका उमाशङ्कर साह र लोसपाका श्यामकुमार मण्डल तथा जवाहर साह कसेराजसहितले सहिद केशव कोइरालाको सहादतले मटिहानीको परिचयमा प्रजातान्त्रिक आन्दोलन जोडिएको स्मरण गरे ।

सो अवसरमा राम माविका प्रधानाध्यापक श्रीष मिश्रले ओखलढुङ्गाको भएर पनि सहिद केशवले ऊर्जावान उमेर मटिहानीमा बिताउँदै यस भेगमा पञ्चायतविरुद्ध जनमत निर्माणमा योगदान दिएको बताए । कार्यक्रम सहिद केशव कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष उपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

विसं २०१७ मा संसदीय प्रजातान्त्रिक व्यवस्था खोसिएर पञ्चायती व्यवस्था लादिएपछि कोइराला विद्यार्थी जीवनमै नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा होमिएका थिए ।

मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ संस्कृत क्याम्पसमा अध्ययनरत रहेकै बेला कांग्रेसको सशस्त्र आन्दोलनमा लागेका कोइरालालाई महोत्तरीवासीले आदरका साथ सम्झने मटिहानीकै बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी बिन्देश्वरीप्रसाद मण्डल बताउछन् । कोइरालाले २०३१ साल साउन ३१ गते मटिहानी प्रहरी चौकी कब्जा गर्ने क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका हुन्।

मटिहानी प्रहरी चौकीमा विस्फोटको योजना बनाउने तत्कालीन नेपाली कांग्रेसका नेताहरु गणेश नेपाली, बलराम शर्मा, महेश कोइराला, श्रीधर झा र केशव कोइरालामध्ये २०३१ साल साउन ३१ गते राती चौकीमा विस्फोटको जिम्मेवारी साथीहरुबीच लिनुभएका कोइरालाले विष्फोट गराएलगत्तै प्रहरीले गरेको फायरिङमा उनको निधन भएको मटिहानीवासी सम्झन्छन् ।

विसं २००७ मा पूर्वी नेपालको ओखलढुङ्गामा जन्मेर महोत्तरीलाई प्रजातान्त्रिक आन्दोलनको कर्मक्षेत्र बनाएका सहिद कोइरालाको सहादतलाई चिरस्थायी बनाउन मटिहानी–जलेश्वर सडकको नामकरण सहिद केशव कोइराला मार्ग गरिनुपर्ने र उनको सहादतस्थल अहिलेको श्रीराम माध्यमिक विद्यालय परिसरमा मित्रराष्ट्र भारतको सहयोगले बनेको विद्यालय भवनको नाउँ पनि सहिद केशव विद्या सदन राखिनुपर्ने सहिद केशव कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष चौधरीको माग छ ।

सहादतस्थलमा नगरपालिकाले स्मारकस्थल र सहिद केशव कोइरालाकै नाउँमा सभाभवन निर्माण गरेको छ । स्मारकस्थलमा सहिद प्रतिमा उनकी धर्मपत्नी गुणकुमारी र छोरी समिता कोइरालाले स्थापित गरेका हुन्। सहिद केशव कोइरालाको प्रतिमा गत चैत ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण गरेका हुन्।

कोइराला कलकलाउँदो २४ वर्षे उमेरमा काखकी छोरी र पत्नीलाई छाडेर प्रजातान्त्रिक आन्दोलनमा लागेका थिए। सहादतको निकै वर्षपछि मात्र २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले कोइरालालाई सहिद घोषणा गरेको हो । सहिद कोइरालाका परिवारमा धर्मपत्नी गुणकुमारी, छोरी समिता र छोरीतर्फका दुई नाति रहेका छन् । समिताका पति उज्ज्वल बराल नेपाली कांग्रेसमा आबद्ध छन् ।