समाचार

एकीकृत समाजवादी पदाधिकारी निर्वाचनः १८ केन्द्रीय पदाधिकारी चयन

१२ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए । आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद महिला जयन्ती राई, उपाध्यक्ष मधेसी समुदाय धर्मनाथ साह निर्वाचित हुनुभएको हो । उपाध्यक्ष खुलामा जगन्नाथ खतिवडा, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् ।

यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित भएका पार्टीको निर्वाचन आयोगले जनाएको छ । पार्टीको सचिव पदमा समावेशी बलदेव चौधरी र सचिव दलित गणेश विक, सचिव खुला मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन भएका पार्टीको निर्वाचन आयोगले जनाएको छ ।

पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मङ्गलबार राति मतदान भएको थियो । पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए ।

गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।