समाचार

राज्यका हरेक संरचनामा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ

१५ भदौ, काठमाडौँ । राज्यका हरेक संरचनामा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा महिला पत्रकारले जोड दिएको छ । क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे को १२औँ साधारणसभा तथा सातौँ अधिवेशनका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।

अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले राज्यका हरेक संरचनामा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताए । उनले संविधानको मर्म र भावनाअनुसार नीति निर्माण गर्ने प्रमुख पदमा महिलाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

“महिलाको क्षमता विकाससँगै आर्थिक, सामाजिक र राजनीतिक रुपमा नेतृत्वदायी भूमिका हुनुपर्छ”, मन्त्री खड्गीले भने, “महिला आर्थिक रुपमा बलियो नभएसम्म समानता आउँदैन ।” उनले पछिल्लो समय पत्रकारिता क्षेत्रले विश्वसनीयता गुमाउँदै गएको भन्दै सत्यतथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता भएको बताए ।

सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले पछिल्लो समय विकास भएका प्रविधिसँगै पत्रकारिता क्षेत्रलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिए । सञ्चारकर्मीले पत्रकार आचारसंहिता विपरीत गतिविधि गर्न नहुने भन्दै उनले समाजमा रहेका विकृति, विसङ्गति विरुद्ध आवाज उठाउँदै सकारात्मक पक्षबाट सचेतना जगाउन समाचार÷सामग्री सम्प्रेषण गर्नुपर्ने उल्लेख गरे ।

न्यूनतम पारिश्रमिक निर्धारक समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकारको न्यूनतम पारिश्रमिक व्यवहारिक रुपमा कार्यान्वयन गर्न ३० वर्ष पुरानो ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घकी सचिव सिर्जना अर्यालले पत्रकारको भौतिक र पेसागत सुरक्षाको माग गरे । आमसञ्चार तथा पत्रकारितासँग जोडिएका मिडिया काउन्सिललगायत ऐन तथा कानुन पत्रकारमैत्री हुनुपर्नेमा उनले जोड दिए ।

डब्लुडब्लुजेका अध्यक्ष निर्मला आचार्यले नेपाली पत्रकारिता क्षेत्रलाई थप सुदृढ र परिपक्क बनाउन जरुरी रहेको बताए । मिडिया एड्भोकेशी ग्रुपकी निर्देशक बबिता बस्नेत, नेपाल पत्रकार महासङ्घका सल्लाकार निर्मला शर्मा र डब्लुडब्लुजेका संस्थापक अध्यक्ष सङ्गीता लामालगायतले नेपाली आमसञ्चार माध्यममा महिलाको भौतिक सहभागितालाई सुनिश्चित गर्दै विषयवस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

सन् २००६ मा स्थापना भएको डब्लुडब्लुजेले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ । संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानुनलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धित निकायलाई निरन्तर सुझाव दिँदै आएको छ । आजको अधिवेशनले डब्लुडब्लुजेको नयाँ नेतृत्व चयन गर्नेछ ।